जोडिनुहोस
  • होमपेज
  • पेरिस ओलम्पिक–२०२४ : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो पुरुष फुटबलको स्वर्ण

पेरिस ओलम्पिक–२०२४ : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो पुरुष फुटबलको स्वर्ण

काठमाडौं । फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनलाई जित दिलाउन फेर्मिन लोपेज र सर्जियो कामेलोले समान दुई गोल गरे । एलेक्स बाइनाले एक गोल थपेका थिए । फ्रान्सबाट एन्जो मिलोट, मघ्नेस अक्लिओच र जेन फिलिप मटेटाले समान एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलको पहिलो अग्रता भने फ्रान्सले बनाएको थियो । मिलोटले ११औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रतामा राखेका थिए । तर, १८औँ मिनेटमा लोपेजले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काए । २५औँ मिनेटमा लोपेजकै गोलमा स्पेनले अग्रता दोब्बर बनायो । २८औँ मिनेटमा बाइनाले गोल गरेपछि स्पेनले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो ।

अक्लिओचले ७९औँ मिनेटमा गोल गर्दै फ्रान्सले स्पेनको अग्रतालाई ३–२ मा झारेको थियो । इन्जुरी समयमा मटेटाले गोल गरेपछि फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा फर्काएको थियो । तर, अतिरिक्त समयमा स्पेनले दुई गोल गरेपछि घरेलु समर्थकमाझ स्वर्ण चुम्ने फ्रान्सको लक्ष्य पूरा हुन पाएन । १००औँ मिनेटमा कामेलोले स्पेनका लागि चौथो गोल गरे । यस्तै, अतिरिक्त समयको इन्जुरी समयमा कामेलोले नै दोस्रो गोल गरेपछि स्पेनले ५–३ को जित निकालेको हो । स्पेनले यसअघि टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो । ओलम्पिकको इतिहासमा स्पेनले दोस्रो पटक पुरुष फुटबलतर्फ स्वर्ण जितेको हो । स्पेनले यसअघि सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा स्वर्ण जितेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका