जोडिनुहोस
  • होमपेज
  • जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

सुर्खेत । नेपाल विद्युत प्राधिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ ।

प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए ।

जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ ।

जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ ।

ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो । यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत् एक सय छ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत् जडान गरिनेछ ।

तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युतका ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ ।

सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो ।

वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ ।

कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि सङ्घीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो । समाइला र वडावनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ ।

प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका