जोडिनुहोस
  • होमपेज
  • दुईदलीय शासन ल्याउन दिँदैनौँ : माधव नेपाल

दुईदलीय शासन ल्याउन दिँदैनौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा दुईदलीय शासन व्यवस्था ल्याउन नदिने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले दुईदलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने बताए ।

“दुईदलीय शासन ल्याउन खोजिएको हो ? दुईदलीय शासन नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ,” उनले भने ।

उनले दुई दलबीच रातारात सहमति किन भनि प्रश्न पनि गरे । नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा सोझो भएको समेत बताए । उनले बंगलादेशको घटनाले सचेत गराएको समेत बताए । “अहिले एउटा घण्टी बजेको छ । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । कुरा लोकतन्त्रको, व्यवहार प्रतिगमनको, अधिनायकवादको, दुईदलीय शासनको दिशामा जाने कुरा स्वीकार्य छैन ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा चिप्ला तर, काम खस्रा नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रियाका विषयमा भएको घटनाक्रम पनि सुनाए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले तत्कालीन राजालाई आग्रह गरेको सुनाए । “मैले नै भेटेको थिएँ । मैले नै कुरा गरेको थिएँ । माओवादीलाई शान्तिप्रक्रियामा ल्याऔँ,” उनले भने ।

०५४ सालदेखि जनयुद्धसँग जोडिएको विषयमा कुराकानी भएको सुनाए । शान्ति प्रक्रिया साना दुःखले नआएको पनि बताए । आफू प्रधानमन्त्री हुँदा बाहिरी शक्ति हाबी हुन खोजेको सुनाए । “त्यो बेलामा पनि बाहिरका शक्ति हाबी हुन खोजेका थिए । बिदा गर्ने कुरा गरेपछि धम्की आयो । यदि यहाँबाट अनमिन फिर्ता भयो भने नेपालका पार्टीले बेवस्थापन गर्ने क्षमता छैन भन्ने आशयले भनेका थिए,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका