ताइपेई– चिनिँया माछा मार्ने जहाज शनिबार अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुब्दा माछा मार्ने जहाजका तीन सदस्य बेपत्ता भएको ताइवानको तटरक्षकले जनाएको छ ।
ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुंगा दुर्घटनाले तनाव बढाएको छ । शनिबार बिहान चिनिँया झण्डा भएको ‘मिन लङ यु ६०८७७’ जहाज किमेन टापुको तटबाट करिब ६.५ नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘जहाजमा चालक दलका सात जना सदस्य थिए । चारजनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्’, विज्ञप्तिमा भनिएको छ ।यस क्षेत्रमा उद्धारका लागि पठाइएको डुंगाले बेपत्ता चालक दलका सदस्य फेला पार्न नसकेको बताएको छ।ताइवानको तटरक्षक र यसका चिनियाँ समकक्षीहरूले तटमा खोजी र उद्धार गरिरहेको विज्ञप्तिमा भनिएको छ ।