जोडिनुहोस
  • होमपेज
  • एमाले फर्किन तयार वामदेवलाई ओलीले भाउ नदिएपछि…

एमाले फर्किन तयार वामदेवलाई ओलीले भाउ नदिएपछि…

काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा फर्किन आतुर छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमाले छाडेका गौतम पुनः एमालेमा फर्किन चाहिरेका छन् ।

तर, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने उनलाई भाउ न दिँदैनन् । यहासम्म कि ओलीले भेटका लागि समय नदिएको वामदेवले गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा उनले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री ओलीसँग समय मागेको तर, नपाएको गुनासो गरे ।

नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको उल्लेख गर्दै उनले त्यसकै बारेमा सरकार प्रमुख (प्रधानमन्त्री) सँग भेटेर कुरा गर्ने सोचेको भएपनि त्यो नपाएको उनकोे भनाई थियो ।

त्यसो त वामदेव प्रधानमन्त्री ओलीको पार्टी नेकपा (एमाले) फर्किन तम्तयार छन्, जुन उनको पूर्वपार्टी पनि हो । २०७८ भदौ १८ गते दोस्रोपटक एमाले छाडेका वामदेव अहिले नेकपा एकता महाअभियानका संयोजक छन् ।

२०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ पुस ७ गते फुट्यो । एमाले–माओवादीबीच पुनः एकता हुनुपर्ने माग गर्दै आएका उनले पछि नेकपा एकता महाअभियान नै घोषणा गरे ।

एकता महाअभियान अहिले राजनीतिक रूपमा पूरै निष्क्रिय छ । उनी भने पुनः एमाले फर्किन तम्तयार छन् । उनले अध्यक्ष ओलीलाई ‘विगतमा मबाट कमजोरी भयो, अहिले पार्टीमा फर्किनका लागि आतुर छु । कहिले बोलाउनुहुन्छ, आइहाल्छु’ भनेर भन्ने गरेका छन् ।

पहिल्यै पनि खासै भाउ नदिइरहेका ओलीले प्रधानमन्त्री बनेयता समयसमेत दिएका छैनन् । समय नपाएपछि वामदेवले राष्ट्रिय सभामै दुखेसो पोखाएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका