जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतीत गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘ब्रेकफास्ट’सँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलोपटक यसप्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुुई साताअघि सम्पन्न काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराए । खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको उनले बताए । उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए । खेलाडीले त्यसका निम्ति प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

भलिबल खेलको विकासका निम्ति प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरे । “सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरूको मनोबल छ, त्यो साकार होस्,” उनले भने, “हामीले खेल खेल्ने जित्नकै लागि हो । त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुुस्, सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गएको महिना रुसी महिला भलिबल खेलाडीले आफूूसँगकोे भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गरे । विश्वस्तरका खेलाडीबाट गरिएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका