जोडिनुहोस
  • होमपेज
  • नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने

नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय बैठकपछि उनले उक्त खुसी व्यक्त गरेका हुन् ।

“नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो,” नेपाल–भारत द्विपक्षीय बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

सोमबार मात्र भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको हो ।

नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुगेको छ ।

२५१ मेगावाट स्वीकृत हुनुअगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत् नेपालले भारतलाई बिक्री गरेको थियो । भारतले सोमबार थप २५१ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृति दिएपछि अब नेपालले झन्डै एक हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न पाउने भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा भारतमा राणालाई स्वागत गर्न पाउँदा पनि खुसी लागेको जनाएका छन् । “ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,” परराष्ट्रमन्त्रीसँगको बैठकपछि भारतीय विदेशमन्त्रीले भनेका छन् ।

परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । “एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो । द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आफ्नो भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले सिएको उनले बताएकी छन् । परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् । उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका