जोडिनुहोस
  • होमपेज
  • सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको छ : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ मा अध्यक्ष ढकालले अहिलेको सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको महसुस भएको उनले बताए ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समेटेको भन्दै यसमा निजी क्षेत्रलाई समेटेको उनले बताए । यसले अन्तरनिकाय समन्वय गरी अल्प, मध्य र दीर्घकालीन महत्त्वका विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।

“तीन दिन अघिमात्रै करिब १७५ सांसद, समिति सभापति र माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र उर्जामन्त्रीको उपस्थितिमा नीतिगत सुधारका लागि आग्रह गरेका थियौँ । उहाँहरूले निजी क्षेत्रलाई काममा अवरोध नहुने प्रतिबद्धता जनाउनुभएको छ,” उनले भने, “बजेटमा नै स्टार्टअपका विषयमा कार्यक्रम राख्न सुरु भएको करिब एक दशकपछि स्टार्टअप परिभाषित भएको छ । चार महिनाअघिमात्रै स्टार्टअपको कानुनी रूपमा परिभाषा आएको छ ।”

लगानी सम्मेलनका समयमा संशोधन भएका आठ कानुनमध्ये एक औद्यागिक व्यवसाय ऐनमा स्टार्टअपको परिभाषा समावेश भएको भन्दै त्यसमा खुसी व्यक्त गरे । संसद्मा विचाराधीन, भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारले निजी क्षेत्र हेर्ने विषयलाई व्यवसायीले गरेको मागलाई सकारात्मक रूपमा सरकारले लिएको पनि उनले बताए । निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको भन्दै थप नियामक आवश्यक नहुने उनको भनाइ छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निक्कै कम हुने ढकालको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका