नयाँदिल्ली । अनुसूचित जाति र जनजातिको आरक्षण सम्बन्धमा भारतको सर्वोच्च अदालतको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले बुधबार (अगस्ट २१) भारत बन्दको आह्वान गरेका छन् ।
यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन् । झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बस स्ट्यान्डबाट बाहिर निस्कन सकेका छैनन् ।
बिहारको जहानाबादमा बन्दका समर्थकहरू सडकमा नारा लगाइरहेका देखिन्छन् । बिहारको आरामा बन्दका समर्थकहरूले रेल लाइनमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् । राजस्थानका धेरै सहरहरूमा पसलहरू बन्द छन् । बन्दको प्रभाव धेरै राज्यमा प्रष्ट देखिएको छ ।
दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि सोमबारको भारत बन्दलाई समर्थन गरेका छन् । बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलामा संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रूपमा भारत बन्द गर्न अपिल गरेकी छन् ।
मायावतीका भतिजा आकाश आनन्दले बहुजन समाज पार्टीका कार्यकर्ताहरूलाई भारत बन्दमा पार्टीको झण्डा बोकेर शान्तिपूर्ण रूपमा सहभागी हुन आग्रह गरेका छन् ।
यसैबीच बिहारको राष्ट्रिय जनता दलले यो बन्दलाई समर्थन गरेको छ भने केन्द्रीय मन्त्री जीतनराम मांझीले यसलाई ‘विपक्षीको भारत बन्द’ भनेका छन् । भारत बन्दलाई ध्यानमा राख्दै प्रशासनले राजस्थानका धेरै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । राज्यका धेरै जिल्लाका शैक्षिक संस्था बन्द गर्न आदेश जारी गरिएको छ ।
उत्तर प्रदेशको राजधानी लखनउमा निषेधाज्ञा जारी गरिएको छ र प्रशासनलाई बन्दका क्रममा कुनै पनि किसिमको हिंसा हुन नदिन निर्देशन दिइएको छ । मध्य प्रदेशको प्रशासनले भारत बन्दका बेला विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । यसअघि सन् २०१८ अप्रिलमा दलित संगठनहरूले आह्वान गरेको भारत बन्दमा मध्य प्रदेशमा धेरै ठाउँमा हिंसा भड्किएको थियो र ६ जनाको मृत्यु भएको थियो । बीबीसी