काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।
वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौं नौबिसे खण्ड प्रभावित भएको थियो । प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
“कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौं उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,” उनले भने । नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।
नागढुंगा प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधन पिप्लामोड भन्दा तल नै रोकिएका छन् । काठमाडौं छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।