जोडिनुहोस
  • होमपेज
  • आँबुखैरेनी बस दुर्घटना : १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

आँबुखैरेनी बस दुर्घटना : १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त बसका १२ घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

उनीहरूलाई नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । भारतीय पयर्टक बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको सूचना पाएलगत्तै मेडिकल टिमसहितको सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा गएको थियो । हेलिकोप्टरमा काठमाडौं ल्याइएका घाइतेहरूको काठमाडौंको महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ । “साथै, थप घाइतेलाई उद्धारको लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस अन्दाजी बिहान ११ः४० बजे तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खसेको थियो । भारतीय पर्यटक बोकेको बस उक्त मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका