जोडिनुहोस
  • होमपेज
  • जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन

जनताको मुद्दालाई प्राथमिकतामा राख्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने उल्लेख गरे ।

“प्रहरी साथीहरूलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्‍यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो पनि आइहाल्छ,” उनले भने । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवामध्ये प्रहरीले प्रदान गर्ने महत्त्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखकले भने ।

उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे । “दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,” उनले भने, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।”

कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे । “यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका