गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चारजना सहभागी भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमालेबाट चारजनाले मन्त्री पदको शपथ लिएका हुन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी र स्वास्थ्य मन्त्री कृष्ण पाठकले शपथ लिए । कृषिमन्त्री बनेकी जिसी नवलपुर २ (१) की सांसद हुन् । उनी २०४८ देखि राजनीतिमा सक्रिय छिन् । अर्कातिर पर्वत (२) बाट निर्वाचित बस्याल एमालेका पाका नेतामा पर्छन् ।
उता बागलुङका पाठक समानुपातिक सांसद हुन् । मसालबाट राजनीति यात्रा थालेका उनी २०४१ पछि माले हुँदै एमालेमा सक्रिय छन् । केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजनीति गरेर २०४७ सालमा एमाले बनेका थिए। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय फुटाएर ७ बाट ९ बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए ।
मुख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका थिए । गण्डकीमा सत्तासाझेदार दल एमालेले चार मन्त्रालय खोजेपछि तनाव भएको थियो । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिएका हुन् ।
मनाङे र देवकोटा यथावत
यसैबीच मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारमा यथावत राखेका छन् ।
उनको यो अडानले गण्डकीमा बिच्किएको एमालेलाई उसले भनेको संख्यामा मन्त्रालय दिएर देवकोटाले दुवैजनालाई राख्न सफल भएका हुन् ।
एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका छन् भने अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न सफल भएका छन् ।