जोडिनुहोस
  • होमपेज
  • नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु

नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित भएका छन् ।

नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गंगापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए ।
केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो । बुधबार निर्मलाको मृत्यु भएपछि गंगापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्यचौकी इञ्चार्ज बुढाथोकीले बताए ।

“यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्छ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्”, उनले भने, “झाडापखालाको प्रकोप छैन । तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउनेक्रम बढेको छ ।”

स्वास्थ्यचौकीमा बिहीबार एकैदिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनामा आउ र पखालाको लक्षण देखिएको छ । त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ ।

अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताए । गेग्ली गाउँ र सोनवर्षामा चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको बताए । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए ।

गाउँपालिकामा कुनै पनि किसिमको संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका