जोडिनुहोस
  • होमपेज
  • नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् ।

भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए । राजदूत भण्डारीले ७ अगस्टमा नयाँ सरकारका विषयमा जारी गरेको विज्ञप्ति स्मरण गराउँदै बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता रहेको दोहोर्‍याएका थिए ।

प्राध्यापक युनुसले नेपालबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार जनाउँदै दुई देशबीच राजनीतिक र जनताको स्तरमा सौहार्द्धपूर्ण सम्बन्ध अघि बढ्ने बताएका थिए । भेटमा राजदूत भण्डारीले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात तयारी भइरहेको र यो काम चाँडो हुँदा यस उपक्षेत्रको ऊर्जा सहकार्यमा रूपान्तरणकारी कदम हुने बताए ।

दुवै देशलाई लाभ हुने गरी ऊर्जा सहकार्यमा उनले जोड दिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । सार्क तथा बिम्स्टेक जस्ता क्षेत्रीय संस्थाको पुनरुत्थान महत्त्वपूर्ण भएको विषयमा पनि दुईबीच छलफल भएको थियो । नेपाल र बंगलादेश दुवै सन् २०२६ बाट अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको परिप्रेक्ष्यमा दुई देशले असल अभ्यास र अनुभव आदान प्रदान गर्नु महत्वपूर्ण भएको विषयमा समेत प्राध्यापक युनुस र राजदूत भण्डारीबीच कुराकानी भएको थियो । हालैको आन्दोलन क्रममा बंगलादेशमा रहेका नेपाली खासगरी विद्यार्थीको सुरक्षामा पाएको सहयोगप्रति पनि राजदूत भण्डारीले प्राध्यापक युनुससँग कृतज्ञता व्यक्त गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका