काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।
“बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्याएको सुनिएको छ । यसलाई सम्बोधन गर्न आवश्यक छ,” उनले भने । क्षतिको यकिन तथ्यांक संकलन गरी आगामी रणनीति बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।