यही शुक्रबार र शनिबार आएको बाढीका कारण काठमाडौं उपत्यकामा सबैभन्दा क्षति ललितपुर जिल्लामा भएको छ । यो जिल्लामा हालसम्म ३१ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । ललितपुरमा खासगरी नख्खु खोलाको बाढीले ठूलो क्षति गरेको छ ।अविरल वर्षापछि नख्खु खोलामा उर्लिएको बाढी पस्दा करिडोर क्षेत्रका कुनै पनि घर तत्काल बस्नलायक रहेका छैनन् । करिडोरका एकतले घरभरी माटो र लेदो भरिएको छ । टिनका घरहरू प्रायस् सबैलाई बाढीले बगाएको छ । पक्की घर पनि बस्नै नमिल्ने अवस्थामा छन् । आइतबारबाट पानी पर्न रोकिएसँगै यस क्षेत्रका मानिसहरू घरभरी भरिएको माटो र लेदो सफा गर्न संघर्ष गरिरहेका छन् । बाढीले क्षति गरेर जोगिएका सामानहरू अहिले त्यसक्षेत्रका बासिन्दा धमाधम सुरक्षित स्थानतर्फ सारिरहेका छन् । घरमा पसेको लेदो र माटो व्यवस्थापन गर्न यस क्षेत्रका बासिन्दालाई हम्मे हम्मे परेको छ।