जोडिनुहोस
  • होमपेज
  • ललितपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु हुन अझै केही दिन लाग्ने

ललितपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु हुन अझै केही दिन लाग्ने

काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण ललितपुरका धेरै स्थानमा विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार कतिपय स्थानमा पोल ढलेको र बाटो समेत नभएका कारण विद्युत् सुचारु हुन अझै केही दिन लाग्नेछ ।

लाकुरी भन्ज्याङ क्षेत्रमा झन्डै १० वटा पोल ढलेको छ । उक्त क्षेत्रमा विद्युत् सेवा सुचारु हुन दुई दिन लाग्ने प्राधिकरणले जनाएको छ । गोदावरी–३, फुल्चोकी क्षेत्रमा विद्युत् सेवा अवरोध रहेको र बाटो समेत नभएका कारण मर्मत हुन सकेको छैन ।

भट्टेडाँडा र्‍याडरनजिक भएको क्षतिको विवरण प्राप्त हुन नसकेको प्राधिकरणको भनाइ छ । ललितपुर–१४, कान्तिपुर कोलोनीमा सोमबार बेलुकासम्म विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ । किष्ट मेडिकल कलेज पछाडि १५/२० घरमा अझै सुचारु हुन नसकेको प्राधिकरणले जनाएको छ । ललितपुरको लिटिल एन्जल्स स्कुल र भेल्पा जग्गा एकीकरण आयोजनानजिक पोलको मर्मतपश्चात सोमबार बेलुकासम्म सुचारु हुन सक्ने प्राधिकरणको भनाइ छ ।

ललितपुर–२३, हात्तीवन नजिकका क्षेत्रमा सोमबार बेलुकासम्म सुचारु हुन सक्ने तथा गोदावरी–लेले क्षेत्रमा भएको क्षतिको विवरण एकीन हुन नसकेको प्राधिकरणले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका