जोडिनुहोस
  • होमपेज
  • बाढी पछि बागमती करिडोरमा हिलो र धुलो, यात्रामा असहज

बाढी पछि बागमती करिडोरमा हिलो र धुलो, यात्रामा असहज

ललितपुर । शुक्रबार देखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण बागमती करिडोर अहिले पनि हिलाम्मे छ ।

शनिबार बिहान सम्म बाढी बागमती करिडोर छिचोलेर बस्तीमा पसे पछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्क लगायत स्थानमा अहिले सम्म हिलो छ ।

सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिले भन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने बागमती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकल यात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदो सहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरको व्यवस्थापन गर्नु पर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउछन् । उनी भन्छन्, “बागमती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”

त्यसैगरी अर्का मोटरसाइकल यात्री विनोद थापाले पनि हिलो र धुलोको कारण बागमती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हाल सम्म करिडोरमा हिलो छ ।”

अहिले बागमती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकाय सँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका