
काठमाडौं– सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म खुला हुने भएको हो ।
सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।