जोडिनुहोस
  • होमपेज
  • सरकारले सवारी चालक अनुमति पत्र दिन नसक्ने स्थिति लज्जास्पद : मन्त्री दाहाल

सरकारले सवारी चालक अनुमति पत्र दिन नसक्ने स्थिति लज्जास्पद : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले सवारी चालक अनुमति पत्र दिन नसक्ने स्थिति लज्जास्पद भएको बताएका छन् । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १०४ वटा मोबाइल फोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले सरकारले एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने स्थिति बन्नु गम्भीर कुरा भएको उल्लेख गरे । उनले ट्रायल दिएर राजश्व तिरिसक्दा पनि चालक अनुमति पत्र नपाउनु गम्भीर रहेको बताए । उनले ट्रायल पास गरेको एक हप्तादेखि १५ दिनभित्र पाइसक्नुपर्ने कुरा दुई वर्षसम्म नपाउनु दुःखद भएको बताए । यो समस्या अविलम्ब समाधान गर्नुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए ।

मन्त्री दाहालले संघ सरकारबाट २२ लाख स्मार्ट लाइसेन्स दिनुपर्ने दायित्व बाँकी रहेकाले प्रदेशसँग समन्वय गरी काम गरिरहेको बताए । उनले प्रदेशले दिने भए मिति तोकेर दिन सुरु गर्न आग्रह गर्दै प्रदेशबाट नसके संघ सरकारले नै दिने बताए । उनले आफूले पनि दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको गुनासो सुनाए ।

उनले भने, ‘ यतिबेला सिंगो नेपाल सरकारले एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने स्थिति यो गम्भीर कुरा हो । हाम्रो लागि लज्जास्पद कुरा हो । एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने, ट्रायल गरेर उसले राजश्व तिरिसक्दा त उसले सवारी चालक अनुमति पत्र पाउनुपर्ने हो । हाताहाती पाउनुपर्ने हो तर हाताहाती नपाए पनि सात दिन, १० दिन र १५ दिन भित्र त पाउनुपर्ने हो नि । तर आज दुई वर्ष, तीन वर्षदेखि मैले पनि एउटा उदाहरणको रूपमा भन्ने गरेको छु, मैले पनि पाएको छैन, दुई वर्ष भइसक्यो । एउटा रसिद बोकेर हिँडिरहेको छु ।’ मन्त्री दाहालले राष्ट्रिय परिचय पत्र र नागरिक एप दुवैमा क्युआर कोर्ड राखे आधिकारिक मान्न सकिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका