जोडिनुहोस
  • होमपेज
  • एक साताभित्र अवरुद्ध राजमार्ग खुलाउँछौँ : गृहमन्त्री

एक साताभित्र अवरुद्ध राजमार्ग खुलाउँछौँ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।

मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अति भारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।

उनले भने,‘बिपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठूलो भूमिका देखिएको छ ।’ विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । ‘यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? यो नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,’ उनले भने । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।

उनले भने,‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन । तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नु छ ।’ मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे ।

उनले भने,‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौँ । त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरू चाँडो लाभग्राही विवरण पठाइदिनुपर्‍यो ।’

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी/पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका