जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौंः प्रचण्ड

हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौंः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन्।

बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको प्रस्ताव राखेर मधेसवादी दलहरूलाई समझदारीमा ल्याएको स्मरण पनि गरे।

‘हामी संविधान परिमार्जन र संशोधनको विरोधी विलकुल होइन। पहिला दुईपटक संविधान संशोधन ग¥यौँः समझदारीका साथ। मैले दुईपटक संशोधनको प्रस्ताव राखेको पनि थिएँ। त्यतिबेला मधेसी जनताको र मधेसी राजनीतिक दलको चाहनाअनुसार संशोधन प्रस्ताव दर्ता नगरेको भए चुनावमा मधेसी दलहरूलाई सामेल गर्न सायद सम्भव थिएन,’ उनले भने, ‘उहाँहरूलाई मेरो नेतृत्वको सरकार संविधान संशोधन गरेर भए पनि मधेसको मुद्दा, या जनताको मुद्दालाई सम्बोधन गर्न तयार छ भन्ने विश्वास भयो। निरन्तर संवाद, सहकार्य र संशोधन प्रस्तावका कारण निर्वाचनतर्फ देश जान सकेको हो।’

उनले देशमा अप्ठ्यारो परेका बेला सबै राजनीतिक दल राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने र विपत्तिको सामना गर्नुपर्ने पक्षमा रहेको बताए। उनले २०७२ सालको भूकम्पपछि आम जनताको चाहनाअनुसार संविधान सभाबाट संविधान बनाउन प्रमुख राजनीतिक दलबीच सहमतिको वातावरण बनाउन सकिएको पनि स्मरण गरे।

‘यहाँहरूलाई सम्झना छ, विनाशकारी भूकम्प गएका बेलामा पनि हामीले राष्ट्रिय सहमति बनाउनेतिर र समझदारीका साथ त्यसको सामना गर्ने, आम नेपाली जनताको चाहनाअनुसार, त्यतिबेला संविधान सभाबाट संविधान बनोस् भन्ने आम नेपाली जनताको चाहना थियो। यो पीडालाई संविधान बनाउनेमा बदल्न सकियो भने जनतालाई राहत हुन्छ भन्ने मान्यता राख्थेँ,’ उनले भने, ‘त्यही मान्यताका आधारमा संसद्मा हामीले अपिल पनि गर्यौं। फलतः संविधानचाहिँ बन्यो त्यतिबेला। अब संविधानमा के चुनौती छन्, त्यो अर्को विषय भयो। जुन आज चर्चा र समीक्षा हुँदैछ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका