जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन

अन्तर्राष्ट्रिय

पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक २, २०८१
पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन

काठमाडौं। पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ। प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार सार्वजनिक स्थानमा भेला हुनसमेत रोक लगाएका छन्।

विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका करिब २ करोड ६० लाख बालबालिको पठनपाठन प्रभावित भएको जनाइएको छ। प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको हो।

तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको बताएका छन्।

अधिकारीहहरूले सर्वसाधारणलाई आन्दोलित नहुन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। लाहोरस्थित पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले घटनासँग सम्बन्धित कोही पनि व्यक्ति नभेटिएको र त्यस्तो घटना भएको भए आफू विद्यार्थीको साथमा उभिने बताएका छन्।

लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ। प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पस र सवारी साधनहरूमा आगजनी गरेका छन्। प्रदर्शनका क्रममा कैयौं स्थानमा विद्यार्थी र प्रहरीबीच झडपहरू भएका छन्।

रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार सहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३ सय ८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन्। ‘हामीले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिको खोजीमा छौं,’ उनले भनेका छन्।

विद्यार्थीहरूले भने सत्य ढाकछोप गरी आफ्नो संस्थाको साख जोगाउन सरकार र उच्च अधिकारीलाई घूस दिइएको दाबी गरेका छन्। लाहोरकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताएकी छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका