सङ्गीत, सांस्कृतिक सम्पदा र सिर्जनशिलको आदानप्रदान गर्ने उद्देश्यले २१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुने भएका छन् । ‘ग्लोमस क्याम्प’ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन ३० भन्दा धेरै विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कलाकार काठमाण्डौमा भेला हुने भएका हुन् । भोलिदेखि १० दिनसम्म कार्यशाला चल्ने आयोजक संस्था नेपाल सङ्गीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ । कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको प्राचार्य उप्रेतीले बताउनुभयो ।
सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो ।
‘ग्लोमसले विद्यार्थी तथा प्राध्यापकलाई अवसर मात्र हैन, सिर्जनशिल नागरिकताको वहस र अवसर पनि प्रदान गर्दछ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व भरका कलाकर्मी समान हुन र उनीहरू विश्व सिर्जनशिल नागरिकताका हकदार हुन भनेर वकालत गर्छ ।’
ग्लोमसले विद्यार्थी केन्द्रित सिकाइलाई प्रवर्धन गर्नुका साथै विभिन्न देशको विद्यार्थी प्रतिनिधिको साझेदारीमा मद्दत पुर्याउने जनाइएको छ । कार्यशालामा नेपालबाट दुई सयभन्दा धेरै सहभागि हुने आयोजकले जनाएको छ ।