जोडिनुहोस
  • होमपेज
  • सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ ।

यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ ।

डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो ।

त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो ।

अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका