जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने

राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने

काठमाडौं। सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए।

बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग उनले उक्त जानकारी दिएका थिए। तर भेटघाटको तयारी भएपनि समय तय नभइसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

यद्यपि अपरान्ह ४ बजे भेटघाट हुन सक्ने मल्लले बताए। राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही लगायत समसामयिक विषयमा छलफल गर्न लागिएको उनले स्पष्ट पारे।

‘राष्ट्रपतिलाई ज्ञापनपत्र वा ध्यानाकर्षण केही गर्न लागिएको होइन। विपक्षी दलहरूले उहाँसँग बसेर छलफल गर्न खोजिएको हो। पछिल्लो राजनीति, सरकारको कामकारबाही लगायत समसामयिक विषयमा छलफल हुनेछ। समय अपरान्ह ४ बजे भनिए पनि यकिन भइसकेको छैन,’ उनले भने।

सरकारको सय दिनको काम असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ। विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा र अजपा रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका