राजनीति
वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न त्यागको भावना बोकेर अघि बढेको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन् ।
सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । साथै उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक योजनालाई कडाइपूर्वक कार्यान्वयन गरिने समेत बताए ।
‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको शुरूआत गरेका छौं,’ उनले भने, ‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछि पूर्व विशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछि त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडि बढेको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएँ ।’
प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै उनले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर नयाँ शुरूआत गरेको समेत स्पष्ट पारे। ‘मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गर्यौं । शुरूआत लुम्बिनीबाट भयो । यो कामले नयाँ सन्देश दिएको छ,’ उनले भने, ‘फजुल खर्चलाई यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’