पोखरास्थित सूर्यदर्शन सहकारीसहितका पीडितले बचत फिर्ता मागसहित प्रदर्शन गर्दैछन् । बिहीबार बिहान ११ बजेदेखि पोखराको मुस्ताङचोकमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीका अनुसार आन्दोलनलाई कास्कीस्थित दलहरूले पनि ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता जनाएका छन् । दुवै पार्टीले झण्डा नबोकी सहकारी पीडितको आन्दोलनमा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेका थिए । संघले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू घर-घर पसेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ । संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न पनि समितिले भनेको छ ।
संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाएको छ । आफूहरूले उठाएको गम्भीर मुद्दालाई राजनीतिक गिजोलेर सामान्यीकरण गर्न खोजिएको संघले जनाएको छ । आन्दोलनमा सहभागिता कमजोर भएपछि बुधबार रास्वपाका नेताहरू पोखराबासीको घरघर छिरेका थिए । उनीहरूको आन्दोलनमा देशभरबाट बोलाइएका रास्वपा कार्यकर्तामात्रै छन् । शनिबार चिप्लेढुंगामा जनसहभागिता देखेर उत्साहित रास्वपा अहिले समर्थक घट्दै जाँदा तनावमा छ ।