जोडिनुहोस
  • होमपेज
  • क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा दिन आफ्नै पार्टीका सांसदहरुको अल्टिमेटम

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा दिन आफ्नै पार्टीका सांसदहरुको अल्टिमेटम

काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आफ्नै पार्टी लिबरलका सांसदहरूले प्रधानमन्त्री पदबाट राजीनामा दिन अक्टोबर २८ सम्मको अल्टिमेटम दिएका छन् ।

सांसदहरूले ट्रुडोलाई पद छोड्न वा विद्रोहको सामना गर्न तयार रह्न चेतावनी दिएको बताइएको छ ।

ट्रुडोको पार्टीका २४ सांसदले चुनावअघि प्रधानमन्त्रीलाई हटाउन माग गरेका छन् । यसका लागि उनीहरुले माग पत्रमा हस्ताक्षर समेत गरेका छन् । तर, सो माग पत्र अहिलेसम्म सार्वजनिक भएको छैन । उक्त पत्रमा सांसदहरूले ट्रुडोलाई आगामी वर्ष हुने आम निर्वाचनमा पराजयको खतरालाई मध्यनजर गर्दै राजीनामा दिन माग गरेका हुन् ।

सांसदहरूले ट्रुडोलाई चौथो पटक प्रधानमन्त्री पदमा उम्मेदवार नबनाउने विषयमा जोड दिएका छन् । विगत एक सय वर्षमा कुनै पनि क्यानेडेली नेताले चौथो पटक चुनाव जितेका छैनन्। क्यानेडेली सरकार खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारतसँग ठूलो कूटनीतिक तनावमा फसेको बेला ट्रुडोसामु यस्तो चुनौती आएको हो ।

ट्रुडोले २० सांसदहरूसँग भेटवार्ता समेत गर्नुभएको छ । उक्त भेटमा पार्टीका ब्रिटिश कोलम्बियाका सांसद प्याट्रिक वीलरले आगामी वर्षको चुनाव जित्न प्रधानमन्त्रीको राजीनामा आवश्यक रहेको बताउनुभएको छ । हाल, क्यानडाको हाउस अफ कमन्समा लिबरलका १ सय ५३ सांसद छन्। हाउस अफ कमन्समा ३ सय ३८ सिट छन्। यसमा बहुमतका लागि १ सय ७० सासंदको समर्थन आवश्यक छ।

ट्रुडो सरकारको सहयोगी न्यू डेमोक्र्याटिक पार्टी–एनडीपीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको ट्रुडो सरकारले अक्टोबर १ मा अविस्वासको प्रस्ताव भने जित्न सफल भएको थियो । यसैबीच ट्रुडोले अगामी चुनावको रणनीतिमा काम गरिरहेको र आफूले नै चुनावको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?