जोडिनुहोस
  • होमपेज
  • भारतको सहयोगमा निर्माण गरिएको गल्याङ नगर अस्पतालको भवन उद्घाटन

भारतको सहयोगमा निर्माण गरिएको गल्याङ नगर अस्पतालको भवन उद्घाटन

काठमाडौं – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४.०१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी. र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग गल्याङ नगर अस्पताललाई आवश्यक अन्य सुविधा, चिकित्सकीय उपकरणको व्यवस्थासँगै अस्पताल भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख, राजनीतिक प्रतिनिधि र अस्पताल व्यवस्थापनका प्रतिनिधिहरुले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरेका थिए । गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्याङ नगर अस्पताल राखिएको छ । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस अस्पतालका लागि निर्माण गरिएको नवनिर्मित संरचना नेपालका जनतालाई गुणस्तरीय पूर्वाधार र स्वास्थ्य सेवामा गुणस्तरीय वातावरण उपलब्ध गराउन उपयोगी हुनेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका