काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुनमार्फत् विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् ।
एमाले काठमाडौं ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नदिई कारबाही गनुपर्छ भन्नेमा पार्टी दृढ रहेको बताए। उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव खल्बल्याउने कोशिश भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खल्बलाउने छुट कसैलाई नभएको दाबी गरे ।
सहकारी ठगी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लाग्ने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।
आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भए पनि मुलुकमा संकट परेका बेला ठूला दलहरू एक हुनुपरेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे । पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यसले सामाजिक सद्भाव र एकतालाई मजबुत बनाउने जिकिर गरेका छन् ।