काठमाडौं। कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्। भोजपुरका गजेन्द्र बान्तवा राई पक्राउ परेका प्रहरीले जनाएको छ।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेगराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ।
उनी झापाको मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया श्रीमती शर्मिला तामाङको हत्यामा संलग्न थिए।
श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाको टोलीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।