जोडिनुहोस
  • होमपेज
  • बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ ।

जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या छजना भन्दा बढी भएका छन् । उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउछिन् ।

‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो’, उनले भनिन्, ‘यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।’

विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन् ।

स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ । ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उनको माग छ ।

खजुरा गाउँपालिका–३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आउएकी छन् । सयपत्री फूलखेतीबाट वार्षिक पाँच लाख बढी मुनाफा लिने गरेको उनले बताइन् ।

कोहलपुर नगरपालिका–३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गरेका छन् । विष्णुले फूल खेतीबाट वार्षिक पाँच लाख आम्दानी लिने गरेको बताए । सुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उनको भनाइ छ ।

सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ । उनले प्रतिकिलो पाँच सयको दरले फूल र माला प्रतिगोटा एक सय २० मूल्य निर्धारण गरेका छन् ।

जानकी गाउँपालिका–३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि विगत तीन वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्वीन्टल फूल उत्पादन गर्दै आएका छन् ।

अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उनको भनाइ छ । फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका