जोडिनुहोस
  • होमपेज
  • बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

काठमाडौं। संसदीय सुनुवाइ समितिबाट बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । परराष्ट्र सचिवसमेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपाल प्रतिनिधि भएर काम गर्नेछिन् ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा लम्सालले आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत गरेकी थिइन् । त्यसपछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

लम्सालले नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा आफूले बेल्जियमका साथै युरोपेली देशहरूमा प्रचारप्रसार गर्ने बताएकी छन् ।
नेपालको सङ्क्रमणकालीन न्यायको सम्बन्धमा युरोपेली मुलुकहरूमा प्रचारप्रसारको आवश्यकता रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उनले बताएकी थिइन्। ’नेपालको सङ्क्रमणकालीन न्याय सफलताको कथाको प्रचारप्रसार र प्रवर्द्धन गर्नेछु,’ उक्त कार्यबाट नेपाललाई प्राप्त हुने लाभबारे उनको कार्ययोजनामा उल्लेख गरिएको छ, ’यसले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक छविको प्रवर्द्धन हुनेछ ।’

ईयूको जिम्मेवारीसहित बेल्जियमको आवासीय र लक्जेम्बर्ग एवं नेदरल्यान्डको गैरआवासीय राजदूतमा प्रस्तावित लम्सालले नेपालको निर्यात व्यापार प्रवर्द्धन, विकास सहायता, पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी, नेपालमा वैदेशिक लगानी ल्याउने, आर्थिक कूटनीति कार्यान्वयन गर्ने सन्दर्भमा गैरआवासीय नेपालीसँग सहकार्य गर्ने उल्लेख गरेकी छिन् ।

यसका साथै, द्विपक्षीय संयन्त्र क्रियाशील गर्ने, सार्वजनिक कूटनीतिमार्फत नेपालको नरम शक्तिको प्रवर्द्धन र नीति पैरवी तथा नागरिक स्तरमा सम्बन्ध विस्तार गर्ने लम्सालको कार्ययोजनामा उल्लेख छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?