जोडिनुहोस
  • होमपेज
  • २७ सय नाघेर झर्‍यो सेयर बजार, होटलमा आकर्षण

२७ सय नाघेर झर्‍यो सेयर बजार, होटलमा आकर्षण

यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । दोस्रोपटक ११ ;४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूहको सूचक २.५२ प्रतिशत बढ्यो । त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढे ।

लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्याङ्गे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सको मूल्य ९.९, एक्सल डेभलपमेन्ट बैंकको ९.९ प्रतिशत मूल्य बढ्यो ।

राम्रो लाभांश घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको मूल्य ५।६५ प्रतिशत बढ्यो । बैंकले १९ प्रतिशत नगद र ६।५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । नबिल बैंकको लाभांशप्रति भने लगानीकर्ता निराश देखिएका छन् । जसले गर्दा बैंकको मूल्य २।६७ प्रतिशत घट्यो । बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

जानाकी फाइनान्सको ४.९, लाइफ इन्स्योरेन्स कम्पनीको ४.८, माथिल्लो मैलुङखोलाको ४.५, माइखोला हाइड्रोपावरको ४.४ तथा अपर लाहोरेखोलाको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, सोल्टी होटल, सानिमा जीआईसी इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र हिमालय ऊर्जा विकास कम्पनी क्रमशः अगाडि रहे ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका