काठमाडौं। भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्यूआई प्लस यूएस रहेको छ।
त्यसपछि पाकिस्तानको लाहोर रहेको छ। लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडाउन नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ। लाहोरको एक्यूआई २२० रहेको छ।
यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित शहरको छैटौँ स्थानमा रहेका छन्। यसैगरी भियतनामको होनाइ सातौँ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा रहँदा काठमाडौं पनि अठारौँ स्थानमा परेको छ।
तिहारमा पड्काइएको पटाकाका साथै धुलोधुवाँका कारण काठमाडौंमा प्रदुषण बढेको बताइएको छ। काठमाडौंको प्रदुषण सूचक ११३ एक्यूआई रहेको छ। काठमाडौंमा प्रदुषण अत्यधिक हुने भएपनि सरोकारवाला निकायले न्यूनीकरणमा खासै पहल गरेको पाइँदैन।