जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा?

नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा?

काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)का ८ पद रिक्त छन्। रिक्त ८ पदमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। तीमध्ये प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची समेत छन्।

२०५१ चैत ५ गते प्रहरी निरीक्षकमा आईजीपी कुँवरसँगै भर्ना भएका गणेश चन्द, भोलाबहादुर रावल लगायत डीआईजीको प्रतिस्पर्धामा छन्।

यस्तै, ०५३ मा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र ०५४ मा प्रहरी निरीक्षक बनेका अधिकारी डीआईजीमा बढुवाका निम्ति दौडधुपमै छन्।

चन्द, रावल बढुवा भए पनि आउँदो चैतमा अवकाश पाउनेछन्। ०५३ र ०५४ को टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भने भावी आईजीपीको दौडमा हुनेछन्।

राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका सिद्धि विक्रम शाह, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ लगायत डीआईजीका दाबेदार हुन्।

यस्तै, उनीहरूभन्दा एक ब्याचपछिका एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्टसहित ११ जना डीआईजीमा बढुवाका निम्ति दौडधुपमा छन्।

गत जेठमा गृह मन्त्रालयले तीन डीआईजीमा ०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका दानबहादुर कार्की, डा मनोज केसी र राजन अधिकारीको बढुवा गरेको थियो। उनीहरू आईजीपीका ब्याचका एसएसपी र ०५३ को टोलीलाई पछि पारेर बढुवा भएका थिए।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछी र डीआईजीहरू बढुवा भएपछि डीआईजीको रिक्त दरबन्दी ८ पुगेको हो।

गएको साता एआईजी किरण राणा र आइतबार नै अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाए। उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको थियो।

त्यसअघि, डीआईजीको ५६ वर्षे उमेर हदका कारण असारमा पोषराज पोखरेल, भदौमा विष्णुकुमार केसी र असोजमा यज्ञविनोद पोखरेलले अवकाश पाएका थिए। एक साताअघि अर्का डीआईजी राजेशनाथ बाँस्तोला पनि अवकाश पाएका छन्।

योसँगै ८रिक्त डीआईजीका निम्ति कुल २० एसएसपी मुख्य प्रतिस्पर्धामा देखिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका