जोडिनुहोस
  • होमपेज
  • पूर्वमन्त्री तथा सांसद दीपक मनाङे सम्पर्कविहीन

पूर्वमन्त्री तथा सांसद दीपक मनाङे सम्पर्कविहीन

काठमाडौं। दुई दशकअघिको घटनाले जेल जानु पर्ने अवस्थामा पुगेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाए लगत्तै उनी मंगलबारदेखि बेपत्ता भएका हुन् ।

‘गुण्डा नाइक’े चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको २० वर्ष पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । त्यसलगत्तै प्रहरीले उनको खोजी गरेको थियो तर अहिलेसम्म फेला परेका छैनन् । उनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बाबुराम गौतमले मनाङेसँग सम्पर्कको प्रयास भइरहेको बताएका छन् । अलग–अलग सिमकार्ड प्रयोग गर्ने भएकाले सम्पर्कमा समस्या परेको उनको भनाई छ । यता, सर्वोच्चको फैसलासँगै मनाङेको सांसद पद पनि निलम्बनमा पर्ने निश्चित भएको छ । निर्वाचनसम्बन्धी ऐनमा फौजदारी कसुरमा अदालतबाट सजाय तोकिएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ । ऐनको दफा १३ मा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने प्रष्ट उल्लेख छ ।

ऐनको यो व्यवस्थाले मनाङेको प्रदेशसभा सदस्य पदको उम्मेदवारी गैरकानुनी ठहरिने भएकाले सांसद पद निलम्बनमा पर्ने देखिन्छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि प्रदेश सभाका सभामुखले पद निलम्बन सम्बन्धी प्रक्रिया अघि बढाउने व्यवस्था छ । मनाङे २०७४ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । अदालतमा मुद्दा विचाराधीन रहेको र फरार अभियुक्तको सूचीमा रहेका उनले त्यतिबेला झूठा विवरण पेश गरेर उम्मेदवारी दिएका थिए। मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी २०७९ को निर्वाचनमा दोस्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । त्रिशंकु संसद्को फाइदा उठाउँदै दुवै कार्यकालमा उनी पटक–पटक मन्त्री समेत भए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका