जोडिनुहोस
  • होमपेज
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं। सिराहा, सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित सडकमा स.६ प २२३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्नमा गाउँपालिका–४ गौरीपुर बस्ने ६० वर्षीया सिता देवी यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, ओमसतिया गाउँपालिका–४ बालापुरस्थित सडकमा परासीबाट भैरहवातर्फ जाँदै गरेको ना.२५ प ५६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूपन्देही, सुद्धोधन गाउँपालिका–१ सिखडास्थित सडकमा रन्यौराबाट सिसैतर्फ जाँदै गरेको लु.३६ प ७७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सैनामैना नगरपालिका–१ वर्माडाडा बस्ने ३७ वर्षीय राजु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका–७ बनगाईस्थित सडकमा लु.२ ख ३१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीय भिमलाल पोख्रेलको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाथीभरा पोलिक्लिनिक बनगाईमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका–१४ छिनेडाडास्थित भेडिफारमबाट छिनेडाडातर्फ जाँदै गरेको बा.६९ प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका–१४ मझेरीपाटन बस्ने २७ वर्षीय अजय बिकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

अर्का चितवन, भरतपुर महानगरपालिका–२४ लक्ष्मण चोकमा प्र.३–०१–०२४ च ४९९३ नम्बरको बलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१प ८८८२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका–५ दारेचोक बस्ने ३७ वर्षीया राम कुमारी गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका