काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो ।
छठ पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका व्रतालु शुक्रवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।