जोडिनुहोस
  • होमपेज
  • बक्यौता नउठाई लाइन जोडे आन्दोलन गर्ने प्राधिकरणका कर्मचारीको चेतावनी

बक्यौता नउठाई लाइन जोडे आन्दोलन गर्ने प्राधिकरणका कर्मचारीको चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनहरूले बक्यौता रकम नउठाई लाइन जोडिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले ऊर्जामन्त्री एवम् प्राधिकरण सञ्चालक समिति अध्यक्ष दीपक खड्कालाई सम्बोधन गरी लेखिएको चेतावनीपत्रमा बक्यौता उठाएर मात्रै लाइन जोड्नुपर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने निर्णय गरेपछि प्राधिकरणका कर्मचारी सङ्गठनहरूले मन्त्री खड्कालाई पत्र लेखेका हुन् । अरू उपभोक्तालाई ६० दिनसम्म महसूल नबुझाउँदा लाइन काटी जरिबानासमेत असूल गरिँदै आएको भए पनि केही उद्योगहरूले अनावश्यक विवाद खडा गर्ने गरेको ती सङ्गठनको चेतावनी छ । पत्रमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भए अन्य उपभोक्तामा पनि महसूल नतिर्ने प्रवृत्ति हाबी हुँदै जाँदा संस्था नै धराशयी हुने खतरा रहेको उल्लेख छ ।

देशमा चरम बिजुली अभाव भई आमनागरिक अन्धकारमा रहेका बेला नियमित उपयोग गरेको बिजुलीको महसूल नतिर्न उद्योगीहरूले अदालत र अरू शक्ति केन्द्रको प्रयोग गरेको कर्मचारी सङ्गठनहरूको ठहर छ । सरकारको यस्तो निर्णयले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुने भन्दै कर्मचारी सङ्गठनहरूले बक्यौता भुक्तानी भएपछि मात्र लाइन जोड्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेका छन् ।

धेरै टिप्पणी गरिएका