जोडिनुहोस
  • होमपेज
  • चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान

चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान

काठमाडौं। चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको थियो ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ, ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताएका छन् । ‘हामीले प्रत्येक वर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ । यो दुविधालाई अन्त्य गर्न र आफूले राजश्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।

साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका