काठमाडौं। आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोनयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
गाउँपालिका र नगरपालिका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। कैलाली जिल्ला समन्वय समितिका प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एकजना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा तीन÷तीनजना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।
आज सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र भोलि साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ देखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। यही मङ्सिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।