जोडिनुहोस
  • होमपेज
  • पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बङ्गलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए । सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखिएको उनले बताए ।

बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायत विषयमा ४० भन्दाबढी सहभागीले आफ्नो अध्ययन, अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम तालिका रहेको पोखरेलले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिहरूबाट बालबालिकासम्बन्धी विविध कार्यशालामा उनीहरूको सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच, सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुनेछ ।

डीन पोखरेलले भने,“सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत रहने गरी इसिडीसम्बन्धी अध्ययन÷अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।”

सम्मेलनले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायत विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरुप कार्यक्रम थप गर्न सघाउ पुग्ने विश्वविद्यालयले विश्वास लिएको छ ।

विश्वविद्यालयले काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायत विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गरेको छ ।a

प्रचलन खबर

धेरै टिप्पणी गरिएका