जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन

काठमाडौंमा एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन

काठमाडौं। शुक्रबार काठमाडौंका ३ ठाउँमा प्रदर्शनको आयोजना गरिएको छ।

नेकपा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन्।

प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताए।

सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले गर्ने छन्। घिमिरेले भने, ‘काठमाडौँको एसएसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।’

प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ। सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ।

प्रदर्शन अवधिभर काठमाडौं उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न भनिएको एसएसपी घिमिरेले बताए। उनले भने, ‘उपत्यका प्रहरी कार्यालयसँग समन्वय गरेर रुट लिएर मात्र यात्रा गर्न आग्रह छौँ।’

यसअघि आफूखुसी हिँड्दा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि बालकुमारीमा आक्रमण प्रयास भएको थियो।

प्रदर्शनकारीले ज्वाला चढेको गाडी जलाएपछि गोली चलाउँदा मानवीय क्षति भएको थियो। त्यस्तो घटना हुन नदिन प्रदर्शन आसपासको क्षेत्रमा जान उच्च पदस्थहरुलाई कडाइ गरिएको प्रहरी अधिकृतहरू बताउँछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका