जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली नेतृत्वमा ४० सदस्यीय टोली चीन जाने, उद्योगी–व्यवसायी पनि सहभागी

प्रधानमन्त्री ओली नेतृत्वमा ४० सदस्यीय टोली चीन जाने, उद्योगी–व्यवसायी पनि सहभागी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर व्यापक तयारी भइरहेको छ । यही १७ गते हुने चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुनेछन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने जाँदैछन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चीन भ्रमणको तयारीस्वरूप मन्त्री राणा आज चीन जान लागेकी हुन् । उनी शनिबार नेपाल फर्केपछि पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका दौरान बिआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ), नेपाल–चीनबीच भएका सम्झौता र कार्यान्वयनको स्थिति, चलिरहेका परियोजनाहरू, र दुई देशबीचको आपसी सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्नका लागि प्रस्ताव राख्नु भ्रमणको अर्को मुख्य एजेन्डा हुनेछ ।

यसअघि अर्थ मन्त्रालयले चीनका विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत यस विषयमा औपचारिक प्रस्ताव गरिसकेको थियो । सम्झौताअनुसार, विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट झन्डै २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिइएको थियो, जुन हालसम्म विमानस्थल सञ्चालनमा नआएकाले अनुदानका रूपमा रूपान्तरण गर्न पहल भइरहेको छ ।

बिआरआईमा ऋण लिने विषयलाई लिएर नेपालमा विभिन्न धारणा छन् । नेपालले सन् २०१७ मा बिआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपनि प्रधानमन्त्री ओलीले हालै मात्र ऋण लिने अवस्थामा नरहेको र उत्पादनमा जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

भ्रमणको कार्यतालिका
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली १७ मंसिरमा चीन प्रस्थान गरेर १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । १९ मंसिरका दिन, प्रधानमन्त्रीले बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्नेछन् ।

भ्रमण २० मंसिरमा समापन हुने छ । चीनले सुरुमा १७ देखि २१ मंसिरसम्मको भ्रमणको प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७ देखि २० मंसिरसम्मको तालिका तय भएको हो । यद्यपि भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ । भ्रमणको औपचारिक घोषणा १४ मंसिरमा काठमाडौँ र बेइजिङबाट एकसाथ हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको चार्टर्ड विमानमा यात्रा गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको यो भ्रमण नेपालचीन सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण मानिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका