काठमाण्डौको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगर शान्तिटोल गेट नजिक बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गएको छ । बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाण्डौको तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा रहनुभएको छ । बसबाट खसेर घाइते भएका बसका सह–चालकको राष्ट्रिय ट्रमासेन्टरमा उपचार भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।