नेपाल प्रिमियर लिग (एनपीएल) आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले टिकट काटेर पनि उद्घाटन खेल हेर्न नपाएका दर्शकको पैसा फिर्ता गरिदिने भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले टिकट किनेर पनि शनिबारको म्याच हेर्न नपाएका दर्शकको रकम फिर्ता गर्न आफ्नो टिकेटिङ पार्टनर खल्ती एपका प्रतिनिधिसँग छलफल भइरहेको बताए । पहिल्यै टिकट किनेका कति दर्शकले खेल हेर्न पाएनन् भन्ने विवरण संकलन गरिरहेको उनको भनाइ छ । क्यानले खल्ती एपबाट मंगलबारदेखि टिकट बेच्न थालेको थियो । बिहीबार बिहानसम्म साधरणतर्फको १० हजार र भीआईपीतर्फ २ हजार गरी सबै टिकट बिक्री भएको थियो । तर, उद्घाटन खेलमा टिकट किनेका कतिपय दर्शकले प्रवेश पाएको गुनासो गरेका छन् ।
‘कतिले हेरे, कतिले पाएनन् भन्ने कुरा हेर्न जानुअघि भएको स्क्यानबाट थाहा हुन्छ’ लामाले शिलापत्रसित भने, ‘त्यसयता क्यानको दुई बैठकमा यसबारे छलफल भएको छ । खल्ती एपसँग कुरा गर्दै छौँ ।’
उनले उद्घाटन खेलमा मैदानभित्र सबै ठीकठाक भए पनि गेटबाहिर तनाव भएको बताए । ‘मैदानबाहिर जति दर्शक थिए, बाहिर पनि त्यति नै थिए’, लामाले भने, ‘मैदानबाहिरै टिकट काटौंला भनेर पनि धेरै आएका रहेछन् । तर, उद्घाटन खेलको टिकट हामीले अनलाइनमार्फत मात्रै बेचेका थियौँ ।’
कीर्तिपुर मैदानमा हुने हरेकजसो म्याचमा दर्शकको भीड उस्तै हुने गरेको उनले बताए । ‘आगामी दिनमा त्यस्तो तनावको स्थिति नहोस् भनेर हामी विशेष सजग रहनेछौँ’, उनले भने । शनिबार गेट ढलेर घाइते भएकाहरूको उपचार भइरहेको उनले बताए । धकेलाधकेल हुँदा मैदान प्रवेश गर्ने फलामको गेट ढलेर दुई प्रहरीसहित ६ जना घाइते भएका थिए ।