उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको काठमाडौं वडा नम्बर १६ मा सोचेजस्तो मत नखसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । थपलियाका अनुसार सो वडाको वडाध्यक्ष पदमा भइरहेको मतदानमा हालसम्म ४० प्रतिशत मात्रै मतदान भएको हो । यो अपराह्न ३ः४० बजे सम्मको अपडेट हो । यो वडामा २१ हजार मतदाता छन् ।
‘अहिलेसम्म ४० प्रतिशत मात्रै मतदान भएको निर्वाचन अधिकृतको अधिकृतले जनाउनुभएको छ,’ थपलियाले खबरहबलाई भने, ‘शहरी इलाकामा पनि यो पटक मतदान कम हुने देखिएको छ । काठमाडौं(१६ मै उत्साह देखिएन करिब, ५० मात्रै मतदान हुने आकलन गरिएको छ।’
काठमाडौं-१६ जस्तै जाजरकोटको नलगाढ नगरपालिकामा पनि ४० प्रतिशतमात्रै मतदान भएको छ । यहाँ उपप्रमुख पदमा निर्वाचन भइरहेको हो । अन्य ठाउँमा ३ बजेर ४० मिनेट जाँदासम्म ५५ प्रतिशत भन्दा बढी मतदान भइसकेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।
थपलियाका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष निर्वाचनको मतपेटिका बाहेक अन्य क्षेत्रमा क्षेत्रको मतपेटिका आज बेलुका ११ बजेसम्ममा मतगणना स्थलमा आइपुग्ने जानकारी निर्वाचन आयोगलाई छ। गौरीशंकरमा भौगोलिक विकटताका कारण आज मत पेटिका गणनास्थलमा ल्याउन समस्या हुने जानकारी आएको उनले बताए ।
थपलियाले भने, ‘अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। हामी पर्सी बिहानसम्म सम्पूर्ण निर्वाचनको मत परिणाम दिइसक्ने तयारीमा छौँ ।’